तान्त्रिक विधामा यन्त्र
तन्त्र विधामा पूजनका दशवटा स्थानहरू छन्ः
शिवलिङ्ग, मणि, यन्त्र, शालिग्राम, घट (कलश), रवि (सूर्य), स्थण्डिल (जमिन भन्दा केही माथि उँचो पारेर बनाएको वेदी वा मञ्च), अग्नि (आगो), मूर्धा (शिर) र हृदय। यी मध्ये यन्त्र पुजनको विषेश आधार वा अधिष्ठान भनिएको छ। यसैको अर्को नाम चक्र र श्रीचक्र पनि हो। यन्त्र शब्द संस्कृत व्याकरण अनुसार दिनु अर्थात् समर्पण गर्ने वा चढाउने हो। सम्पूर्ण देवताको पूजन यन्त्र मै गर्नु उचित हुन्छ। शरीर आत्माको अधिष्ठान हो भने यन्त्र देवताको। यन्त्र मन्त्रमय हुन्छ, देवता साक्षात मन्त्र स्वरूप। त्यसैले यन्त्रमा पूजा गन्यो भने देवता शीघ्र प्रशन्न हुन्छन्, साधकको अभिष्ट सिद्ध हुन्छ।
मानवको शरीर मै काम, क्रोध, स्वार्थसिद्धि आदि अनन्त दोषहरू रहेका छन्। मानवीय दुःख कष्ठका श्रोतहरू यिनै हुन्। यन्त्र पूजनले यी सम्पूर्ण दुःख कष्टको नियन्त्रण गर्दछ। यन्त्र अनेकौँ वस्तुबाट बन्दछन् जस्तै- मणि, सुन, चाँदी, तामा, स्फटिक, शालग्राम, शीला आदिबाट बन्दछ। यी कुनै पनि उपलब्ध हुन सकेन भने अपराजिता पुष्प, जपापुष्प, शुद्ध रातो करवीर अथवा द्रोणपुष्प आदिमा पनि यन्त्र हुन्छन्, यी पनि नहुँदा तीर्थ, खोला वा कुवाको शुद्ध पानीलाई यन्त्रको भावना सम्झेर पूजन गर्न सकिन्छ।
यन्त्र नबनाई भूमिमा त्यसै पूजन गर्नु भने हुँदैन। यदि गरियो भने आयु, धन, सन्तान नष्ट हुन सक्छन्। यन्त्रद्वारा फल प्राप्तिका लागि भने तामाका यन्त्रमा पूजन गर्नाले लाख गुना फल पाईन्छ भने चाँदीको यन्त्रमा पूजन गर्नाले करोड गुना र सुन तथा स्फटिकमा अरवौं गुना फल पाईन्छ। मणि-माणिक्य यन्त्रपूजनबाट अनन्त गुना फल प्राप्ति हुन्छ। भूमिमा सिन्दूरले यन्त्र बनाएर गरिएको पूजनले सम्पूर्ण कामनाको पूर्ति हुन्छ।
यन्त्र भनेको के हो?
'यन्त्र' संस्कृत शब्द हो, जुन 'यम्' धातुबाट बनेको छ। यसको शाब्दिक अर्थ हुन्छ नियन्त्रण गर्ने वा संकुचित गर्ने साधन। आध्यात्मिक अर्थः यन्त्र एउटा यस्तो ज्यामितीय आकृति (Geometric Figure) हो जसमा देवी-देवता वा ब्रह्माण्डीय ऊर्जाहरूलाई "बाँधेर" राखिन्छ। ज्योतिषशास्त्रमा यन्त्रहरूको विशेष महत्त्व छ। यी यन्त्रहरू ग्रहहरूको प्रभावलाई सन्तुलनमा ल्याउन, नकारात्मक शक्तिहरूबाट सुरक्षा गर्न र सकारात्मक ऊर्जा प्राप्त गर्न प्रयोग गरिन्छ। वैज्ञानिक अर्थः यो एउटा 'ऊर्जा सञ्चय गर्ने यन्त्र' (Energy Storage Device) जस्तै हो, जसले विशिष्ट ध्वनि (मन्त्र) र आकृति मार्फत ब्रह्माण्डबाट सकारात्मक ऊर्जा खिच्छ।
यन्त्र किन प्रयोग गर्ने?
- मनलाई एकाग्र गर्नः ध्यान गर्दा मनलाई भड्किन नदिन।
- ऊर्जा सन्तुलनः घर वा शरीरमा भएको नकारात्मक ऊर्जालाई हटाएर सकारात्मकता भर्न।
- सुरक्षाः शत्रु, नजरदोष वा तन्त्र-मन्त्रको खराब असरबाट बच्न।
- इच्छा पूर्तिः धन, स्वास्थ्य र सफलता प्राप्तिका लागि।
यन्त्रको आकार
- बिन्दु (Point): यो यन्त्रको केन्द्र हो, जसले परमात्मा वा सृष्टिको केन्द्र बुझाउँछ।
- त्रिकोण (Triangle): माथि फर्किएको त्रिकोणले 'पुरुष' (शिव) र तल फर्किएकोले 'प्रकृति' (शक्ति) बुझाउँछ।
- वृत्त (Circle): यो ब्रह्माण्ड र गतिको प्रतीक हो।
- वर्गाकार (Square): यो पृथ्वी तत्त्व र बाहिरी संसारबाट सुरक्षाको घेरा हो।
- कमलको पात (Lotus Petals): यो पवित्रता र चेतनाको विकासको प्रतीक हो।
यन्त्र प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
यन्त्र घरमा राख्दा वा शरीरमा लगाउँदा निम्न कुरा अनिवार्य पालना गर्नुपर्छः
- शुद्धताः नुहाइधुवाइ नगरी वा अशुद्ध अवस्थामा यन्त्र छुनु हुँदैन।
- प्राण प्रतिष्ठाः विद्वान गुरुद्वारा मन्त्रोच्चारण गरी यन्त्रलाई 'जागृत' गराउनुपर्छ।
- दिशाः प्रायः यन्त्रहरू उत्तर वा पूर्व दिशामा फर्काएर राख्नु राम्रो मानिन्छ।
- निष्कर्षः यन्त्र केवल एउटा चित्र मात्र नभई यो ईश्वरीय शक्तिको सूक्ष्म रूप हो।
कुन यन्त्रको पूजनबाट के लाभ
- सुवर्णको यन्त्र पूजनबाट ठूला-ठूला सामर्थ्य व्यक्तिहरू साधकका वसमा आउन सक्तछन्।
- चाँदीको यन्त्र पूजनले दीर्घायु र आरोग्य प्रदान गर्दछ।
- तामाको यन्त्र पूजनले सम्पूर्ण ऐश्वर्य लाभ हुन्छ।
- स्फटिकको यन्त्र पूजनबाट मनले चिताएको पुग्छ।
- माणिक यन्त्रमा रचित यन्त्र पूजनबाट अपार भोग प्राप्त हुन्छ।
- गोमेद यन्त्रमा ऐश्वर्यपद् मानिन्छ।
- पन्नाको यन्त्रमा पूजनबाट शत्रु विनाश हुन्छ।
- दशभाग सुन, सोह्रभाग चाँदी र बाह्रभाग तामा मिसाएर बनाएको (लोहत्रय) को यन्त्रमा पूजन गर्नाले सौभाग्यप्राप्तिका साथै अभिष्ट सिद्धिको लाभ हुन्छ।
यन्त्रपूजनमा के गर्दा हानी हुन्छ?
- शीशा, फलाम, काठ, कपडा र भित्तामा यन्त्र राखियो भने कूल, धन, सन्तान निर्मूल हुन्छन्।
- एउटा देवतालाई आव्हान गरेर अर्कालाई पूजन गर्नु हुँदैन।
- एउटै पीठमा धेरै देवतालाई पूजन गर्नु छ भने अलग-अलग आव्हान गरेर अलग-अलग पूजन गर्नुपर्दछ।
- सुन, चाँदी, तामा, पीठ, भोजपत्र, पृथ्वी यिनीहरूमा यन्त्र नलेखी पूजा गर्नु हुँदैन।
- यन्त्र लेख्ने वस्तु पनि दक्षिण र वाममार्गमा वेग्ला वेग्लै हुन्छन्। दक्षिण मार्गमा आठ किसिमका गन्ध (चन्दन) ले यन्त्र लेखिन्छ भने वाममार्गमा आध्यपुष्प रक्तले लेखिन्छ अथवा अपराजिता पुष्पमा रक्तचन्दन लगाएर यन्त्र बनाईन्छ।
- यन्त्र बनाउँदा सोझा-सोझा रेखा तानेर बनाउनु पर्दछ, यसबाट लक्ष्मी (सम्पत्ति) प्राप्त हुन्छ। रेखा बाङ्गा भएमा दरिद्रताको शिकार बन्नु पर्नेहुन्छ।
देवताहरूको अधिष्ठान यन्त्र
- काली (दक्षिण) यन्त्रः यसमा पाँचवटा त्रिकोण, तीन वृत, अष्टदल, वृत्त र भूपुर हुन्छन्।
- ताराको यन्त्रः यसमा त्रिकोण, वृत्त, अष्टदल र भूपुर हुन्छन्।
- षोड्शी त्रिपुरासुन्दरी यन्त्रः यसमा विन्दु, त्रिकोण, अष्टकोण, दुई दशकोष, चौध कोण, वृत्त, अष्ट दल, षोड्श दल, तीन वृत्त र तीन भूपुर हुन्छन्
- भुवनेश्वरी यन्त्रः यसमा षड्कोण, वृत्तदल, षोड्शदल र भूपुर हुन्छन्।
- भैरवी यन्त्रः यसमा नौ त्रिकोण, वृत्त, अष्टदल र भूपुर हुन्छन्।
- छिन्नमस्ता यन्त्रः यसमा त्रिकोण, तीन वृत्त, अष्टदल र भूपुर हुन्छन्।
- बंगलामुखी यन्त्रः यसमा त्रिकोण, षट्कोण, अष्टदल र भूपुर हुन्छन्।
- धुमावतीय यन्त्रः यसमा षट्कोण, वृत्त, अष्टदल र भूपुर हुन्छन्।
- मातङ्गी यन्त्रः यसमा षट्कोण, वृत्त, अष्टदल र भूपुर हुन्छन्।
- कमला (लक्ष्मी) यन्त्रः यसमा षट्कोण, वृत्त, अष्टदल र भूपुर हुन्छन्।
यन्त्रशास्त्रमा उल्लिखित देवता र यन्त्र रीति अनुसार परम्परागत रूपमा चलेको यन्त्र बनाई आफूले लिएको दीक्षा अनुसार सम्बद्ध देवताको बीज मन्त्र प्रधानरूपले मन्त्रको मध्यमभागमा लेखी श्रद्धापूर्वक नित्य पूजा गर्नुपर्दछ।
महामृत्युंजय ॐ र्ध्वमुखी यन्त्र
शुभ मुहुर्तमा चाँदी अथवा तामाको पत्रमा या भोजपत्रमा यो यन्त्रलाई लेख्नु यक्षकर्दम र अनारको कलमले लेख्नुपर्छ। त्यसपछि एकान्त तथा शुद्ध स्थानमा यस यन्त्रको प्राण प्रतिष्ण गराउनु पर्छ र श्रद्धापूर्वक यो मन्त्र उच्चारण गर्नुपर्छः
ॐ ह्रौं ॐ जूं सः भूर्भुवः स्वः ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्द्धनम्
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॐ स्वः भुवः भूः ॐ सः जूं ह्रौं ॐ
रोग-शमन र मुत्यु संकट निवारणमा यो मन्त्रको प्रभाव चमत्कारीपूर्ण तथा अद्वितीय हुन्छ।
श्री दुर्गा पूजन यन्त्र
शुभ-मुहूर्तमा भोजपत्रमा अनारको कलमले रक्तचन्दनद्वारा यस यन्त्रलाई बनाउनु पर्छ। स्वर्णपत्रमा बनेको यस यन्त्रलाई अभिषेश गर्नुहोस्। "ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः" यस मन्त्रलाई आठ लाख जप गर्नुपर्छ। साधकले रातो वस्त्र धारण गर्नुपर्छ। आठ हजार मन्त्रले मधुयुक्त तिल अथवा दुग्ध मिश्रित अन्नले होम गर्नुपर्छ। आमा दुर्गाको कृपाले सबै प्रकारको कामना पूर्ण हुन्छ।
दुर्गा सप्तशती यन्त्र
यस यन्त्रको रचना भोजपत्र अथवा ताम्रपत्रमा रक्तचन्दन या अष्टगंधको मसीले अनारको कलमद्वारा लेख्नुपर्छ। नवयात्री अथवा अन्य शुभ-मुहूर्तमा यन्त्रको प्राण प्रतिष्ठा गरेर रातो आसनमा स्थापित गर्नुपर्छ। रातो कपडा प्रयोग गर्नुपर्छ। पूजनमा फूल पनि रातो प्रयोग गर्नुपर्छ। रक्तचन्दन, रातो फूल, धुप-द्वीप र नैवेद्यादिले पूजा गर्नुपर्छ। रुद्राक्षको माला लिएर तल दिएको मन्त्रलाई कम्तीमा पनि एकपटक प्रतिदिन माला जप गर्नुपर्छ।
ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ॐ ग्लौं हुँ क्लीं जूं सः
ज्वालय ज्वालय ज्वल ज्वल प्रज्वल प्रज्वल ऐं ह्रीं क्लीं
चामुण्डायै विच्चै हं सं लं क्षं फट् स्वाहा।
२१ दिनमा ११ हजार जप गरेर हवन र दान गरेको खण्डमा निश्चित रूपमा बान्छित फल मिल्छ।
त्रिपुरासुन्दरी (षोडशी) यन्त्र
मूल मन्त्रः ॐ ऐं ह्रीं श्रीं त्रिपुरा सुन्दर्यै नमः
बाला त्रिपुरासुन्दरी मन्त्रः ॐ ऐं ह्रीं श्रीं बाला त्रिपुरा सुन्दर्यै नमः
षोडशी मन्त्रः श्रीं क ए ई ल ह्रीं, ह स क ह ल ह्रीं, स क ल ह्रीं
शुभ-मुहूर्तमा यस मन्त्रलाई स्वर्णपत्रमा निर्माण गर्नु पर्छ र षोडशोपचारबाट पूजागरी पूजा स्थलमा स्थापित गर्नुपर्छ। माथिको मन्त्रलाई तीन लाख जप गर्नुपर्छ। घिउ मधुबाट फूलको होम गर्नुपर्छ। सिद्ध भएपछि विद्या र लक्ष्मी प्राप्त गर्न तीन लाख जप गर्नुपर्छ। बेलको फूलको होम गर्दा लक्ष्मी खुसी हुन्छिन्।
श्री त्रिपुर भैरवी पूजा यन्त्र
स्वर्ण निर्मित यन्त्रलाई ताम्रपत्रमा राखेर दूध-पानीद्वारा अभिषेक गर्नुपर्छ। “ॐ हसरीं त्रिपुर भैरव्यै नमः” मन्त्रलाई चौविस लाख जप गर्नुपर्छ। दशमांशको होम गर्नुपर्छ। षट्कर्मको प्रयोगको लागि परम्पराबाट नै दीक्षित हुन आवश्यक छ। यसो गर्दा समस्त सिद्धिको प्राप्ति हुन्छ।
श्री छिन्नमस्ता पूजा यन्त्र
स्वर्ण ताम्रपत्रमा यो यन्त्रलाई बनाउनु पर्छ। विधिपूर्वक आवरण पूजा गर्न सकिएपछि उक्त यन्त्रलाई प्रतिष्ठापित गर्नुपर्छ। यस कार्यको लागि एकान्त आवश्यक हुन्छ। अभिषेक गरेपछि यन्त्र अक्षरको यो मन्त्र “ॐ वीं ह्रीं क्लीं ऐं वज्रवैरोचनीये ह्रीं ह्रीं फट्” लाई चारलाख जप गर्नुपर्छ। बेलको फूलले आहुती दिंदा लक्ष्मी प्राप्त हुन्छिन्।
श्री बंगला पूजा यन्त्र
यस यन्त्रलाई स्वर्णपत्रमा बनाउनु पर्छ। पूजा अर्चना गरी “ॐ ह्रीं बगलामुखि सर्वदुष्टानां वाचं मुखं स्तम्भय जिहां कीलय बुद्धिं नाशय हां ॐ स्वाहा” यस मन्त्रको जपगर्दा रक्तचन्दनको मालालाई वेसार दलेर गर्नुपर्छ। अनुष्ठान गर्दा पहेंलो कपडा लगाउनु पर्छ। आसन पनि पहेंलो हुनुपर्छ। जप एक लाख हुनुपर्छ। पर्वत, शिखर, घोर जङ्गल, नदिको संगम तथा शिवालय साधनाको लागि योग्य स्थान हो। यो यन्त्र-मन्त्र सर्वसम्पत्तिदायक तथा शत्रुनाशक हुन्छ।
लक्ष्मी पूजन यन्त्र
स्वर्णपत्रमा अङ्कित यस मन्त्र सहज र फलदायी हुन्छ। दिपावलीको दिन आफ्नो जन्मराशिको अनुसार शुभमुहुर्त गरेमा अचल योग हुन्छ। अभिषेक पूजन पछि यसको स्थानमा शास्त्रसम्मत विधिले प्रतिष्ठान गर्नुपर्छ। यन्त्रको साथमा “ॐ श्रीं हीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं हीं श्रीं महालक्ष्म्यै नमः॥” यस मन्त्रलाई बाह्रलाख जप गर्नुपर्छ। घिउ, मधु तिलद्वारा बाह्रहजार आहुतिद्वारा होम गर्नुपर्छ। सम्पति र भाग्यको बृद्धि हुन्छ र साधक श्री सम्पन्न हुन्छ।
श्री बटुक पूजा यन्त्र
श्री बटुक भैरवको यस मन्त्रलाई भित्तामा टाँस्नु अथवा ताम्र स्वर्णपत्रमा शुभ मुहूर्तमा बनाउनु। विधिपूर्वक यस मन्त्रलाई प्राण-प्रतिष्ठा गराउनु आफ्नो मनोकामनाको लागि नीलो अथवा कृष्ण रंगको वस्त्र लगाउनु पर्छ। यन्त्रको सामुन्ने बसेर "ॐ ह्रीं बटुकाय आपदुद्धारणाय कुरु कुरु बटुकाय ह्रीं" यो मन्त्रलाई एकलाख जप गर्नुपर्छ। स्त्रोत्रादिवाट मन्त्रको नित्य पूजा गर्नुपर्छ।
चिन्तामणि यन्त्र
यस चिन्तामणि यन्त्रलाई अनारको कलमले भोजपत्रमा चन्दन र सिन्दूरले लेखेर टाउकोमा बाँध्नु पर्छ। दुष्मनद्वारा छोडेको तीर लाग्दैन। "ॐ ह्रीं नमो भगवते चिन्तामणि-पार्श्वनाथाय सप्तफण-मण्डिताय मम ऋद्धिं सिद्धिं वृद्धिं सौख्यं कुरु-कुरु स्वाहा" यस मन्त्रलाई केशर कस्तुरीले लेखेर आफ्नो साथमा राख्नाले संबै कामना पूर्ण हुन्छ। यदि कसैलाई आफ्नो बशमा राख्नु छ भने केसर-कस्तुरीले यस यन्त्र सेतो कपडामा लेखेर बाल्ने र त्यसबाट निस्किएको खरानीलाई कुनै खाद्य पदार्थमा राखेर (मिलाएर) खान दिएमा ऊ वशमा आउँछ।
श्री घंटाकर्ण महायन्त्र
ॐ ह्रीं घंटाकर्णो महावीर, सर्वव्याधि-विनाशकः। विस्फोटकभयं प्राप्ते, रक्ष रक्ष महाबलः॥
रविहस्त, रविमूल गुरुपुष्य अथवा दिपावलीको दिन यस यन्त्रलाई कांसको थालमा कुँद्न लगाउनु पर्छ या अष्टगन्धले भोजपत्रमा लेख्नुपर्छ र पञ्चामृतले अभिषेक गर्नुपर्छ। चन्दन-केसरले पूजा गर्नुपर्छ। पूजाको थालीको एकापट्टी अगरको १०८ टुक्रा तथा दोश्रो तिर घिउमा दियो र रातो रङ्गको जाई-जुहीको १०८ फूल राख्ने। दियो र थोरै सुगन्धित धुप बालेर यन्त्रमा दिएको मन्त्रलाई पाठ गर्नुपर्छ। एक मन्त्र पढ्ने वित्तिकै छेउमै बसेको सहयोगी व्यक्तिले एक थुंगा फूल चढाउनु पर्छ। अर्को सहयोगीले अगरको एक टुक्रा अग्निमा हाल्दै घण्टी बजाइरहनु पर्छ। यसरी १०८ चोटी गरेर थालीमा नरिवल तथा पञ्चरत्नको एक पोका र चाँदीको एक रुपैयाँ चढाउनु पर्छ। चालिसवटाको बनेको रुद्राक्षको माला धण्टाकर्ण महामन्त्रलाई घेरेर राख्नु पर्छ। बनाइएको घण्टाकर्ण यन्त्र घरको पूजा कोठामा स्थापना गरेर पूजा गर्नाले क्षुद्र व्यवहार, उपद्रो हटेर जान्छ, सुख सौभाग्य बृद्धि हुन्छ।
ऋणमुक्तिको यन्त्र
मूल मन्त्रः ॐ ऋणमुक्तेश्वर महादेवाय नमः।
गणेश मन्त्रः ॐ गणेश ऋण छिंधी वरेण्यम हुम नमः फट्।
दत्तात्रेय मन्त्रः ॐ अत्रेरात्मप्रदानेन यो मुक्तो भगवान् ऋणात्। दत्तात्रेयं तमीशानं नमामि ऋणमुक्तये॥
मंगल मन्त्रः मंगलो भूमिपुत्रश्च ऋणहर्ता धनप्रद। स्थिरासनो महाकायः सर्वकामविरोधकः॥
यस यन्त्रलाई ४० दिनमा ५ हजार संख्यामा भोजपत्रमा केसर र अनारको कलमले लेख्नुपर्छ। लेख्दा मंगलबार देखि सुरु गर्नुपर्छ। धुप-दिप नैवेद्यले पूजा गरेर अन्तिम दिन एक यन्त्र आँटाको डल्लो भित्र राखेर खोलामा बगाउनु पर्छ। केही दिनमै ऋणबाट मुक्त होईन्छ।
नवग्रह सम्बन्धी यन्त्रहरू
सूर्य यन्त्र
सूर्यको दोष निवारण, आत्मबल, आत्मविश्वास, नेतृत्व क्षमता, सम्मान वृद्धिको लागि प्रयोग गरिन्छ। कुण्डलीमा सूर्य कमजोर हुँदा आउने बाधा हटाउन र सरकारी वा प्रशासनिक लाभ लिन यो प्रयोग गरिन्छ।
सूर्य यन्त्रको प्रमुख फाइदाहरू
- नेतृत्व क्षमताः यसले व्यक्तिमा निर्णय गर्ने शक्ति र प्रभावकारी व्यक्तित्व विकास गर्छ।
- आत्मविश्वासः डर र हिनताबोध हटाएर आत्मविश्वासमा अद्भूत वृद्धि गर्छ।
- सामाजिक प्रतिष्ठाः समाजमा मान-सम्मान, यश र कीर्ति दिलाउन मद्दत गर्छ।
- आर्थिक उन्नतिः व्यापार र करियरमा स्थिरता र सफलता ल्याउँछ।
- मुटुः हृदयको गति सन्तुलित राख्न र मुटु सम्बन्धी समस्यामा राहत दिन मद्दत गर्छ।
- आँखाः सूर्य आँखाको कारक भएकाले यसले दृष्टिशक्ति तेजिलो बनाउँछ।
चन्द्र यन्त्र
चन्द्रमाको दोष निवारण, मानसिक शान्ति, भावनात्मक स्थिरताको लागि प्रयोग गरिन्छ। यदि कुनै व्यक्तिको कुण्डलीमा चन्द्रमा कमजोर छ भने उसलाई मानसिक अशान्ति, तनाव र चञ्चलता हुन्छ। यस्तो अवस्थामा चन्द्रमाको बल बढाउन र मनलाई स्थिर राख्न यन्त्रको प्रयोग गरिन्छ।
चन्द्र यन्त्रको प्रमुख फाइदाहरू
- मानसिक स्थिरताः यसले मनको विचलित अवस्थालाई शान्त पार्छ र एकाग्रता बढाउँछ।
- भावना नियन्त्रणः अत्यधिक रिस उठ्ने वा भावुक हुने व्यक्तिहरूका लागि यो निकै प्रभावकारी हुन्छ।
- सम्बन्धमा सुधारः विशेष गरी आमासँगको सम्बन्ध सुमधुर बनाउन र पारिवारिक सुखका लागि यो राम्रो मानिन्छ।
- निर्णय क्षमताः भ्रम हटाएर स्पष्ट सोच्ने शक्ति प्रदान गर्छ।
- नकारात्मकताको अन्त्यः यसले नकारात्मक विचार र डिप्रेसन जस्ता समस्या कम गर्न मद्दत गर्छ।
- अनिद्रा (Insomnia): राती निद्रा नलाग्ने समस्या भएकाहरूका लागि यन्त्र लाभदायक हुन्छ।
मंगल यन्त्र
मंगलको दोष निवारण, ऋण-मुक्ति, साहस, ऊर्जा प्राप्ति, साहसको लागि प्रयोग गरिन्छ।
मंगल यन्त्रको प्रमुख फाइदाहरू
- साहस र आत्मविश्वासः यसले डर र चिन्ता हटाएर व्यक्तिमा अद्भूत आत्मविश्वास र साहस भर्छ।
- कार्यमा सफलताः अल्छीपन हटाएर व्यक्तिलाई सक्रिय बनाउँछ, जसले गर्दा कार्यक्षेत्रमा सफलता मिल्छ।
- शत्रु विजयः यसले शत्रुहरूमाथि विजय प्राप्त गर्न र विरोधीहरूको प्रभाव कम गर्न मद्दत गर्छ।
- भूमि र सम्पत्तिः घर-जग्गा वा भूमिसँग सम्बन्धित कारोबारमा लागेका व्यक्तिहरूका लागि यो अत्यन्तै लाभदायक हुन्छ।
बुध यन्त्र
बुधको दोष निवारण, बुद्धि, व्यापार, तर्कशक्ति वृद्धि, संचार शक्ति वृद्धिको लागि प्रयोग गरिन्छ।
बुध यन्त्रको प्रमुख फाइदाहरू
- तीक्ष्ण बुद्धिः यसले स्मरण शक्ति बढाउँछ र सोच्ने क्षमतालाई स्पष्ट पार्छ। विद्यार्थीहरूका लागि यो निकै उपयोगी मानिन्छ।
- वाणीमा प्रभावः जो व्यक्तिहरू धेरै बोल्नुपर्ने पेशामा छन् (जस्तैः वकिल, शिक्षक, गायक, वा राजनीतिज्ञ), उनीहरूका लागि यो यन्त्रले वाकपटुता प्रदान गर्छ।
- व्यापारिक सफलताः बुध व्यापारको कारक हो। यन्त्र स्थापना गर्दा व्यापारमा लाभ हुने र नयाँ अवसरहरू प्राप्त हुने विश्वास गरिन्छ।
- गणितीय क्षमताः अकाउन्टिङ, बैंकिङ, र इन्जिनियरिङ क्षेत्रमा रहेकाहरूका लागि यसले गणना गर्ने क्षमतामा सुधार ल्याउँछ।
- स्नायु प्रणाली (Nervous System): मानसिक तनाव, छटपटी र नर्भसनेस कम गर्न यसले मद्दत गर्छ।
- वाणी दोषः भकभकाउने (Stammering) समस्या भएका बालबालिका वा व्यक्तिहरूका लागि यन्त्र स्थापना गरी पूजा गर्दा लाभदायक हुन्छ।
- आँखाः हरियो रङ आँखाका लागि सुखद हुने भएकाले यसले दृष्टिको एकाग्रता बढाउन सहयोग गर्छ।
बृहस्पति यन्त्र
बृहस्पतिको दोष निवारण, शिक्षा, आध्यात्मिकता, धन प्राप्ति, ज्ञान र समृद्धिको लागि प्रयोग गरिन्छ।
बृहस्पति यन्त्रको प्रमुख फाइदाहरू
- बौद्धिक विकासः यसले स्मरण शक्ति बढाउँछ र मानिसलाई ज्ञानी तथा दूरदर्शी बनाउँछ।
- आर्थिक समृद्धिः पुष्पराजलाई 'धनको यन्त्र' भनिन्छ। यसले व्यापार र करियरमा अचानक सफलता र धन लाभ गराउन सक्छ।
- वैवाहिक सुखः विशेष गरी महिलाहरूका लागि यन्त्रले विवाहमा ढिलाइ हटाउन र सुखद वैवाहिक जीवनका लागि अत्यन्त शुभ मानिन्छ।
- वंश वृद्धिः सन्तान सुख नभएका दम्पतीहरूका लागि गुरुको कृपा पाउन यो यन्त्र लगाउँदा/स्थापना गर्दा लाभदायक हुन्छ।
- आध्यात्मिक झुकावः यसले मानिसलाई धर्म-कर्म र परोपकारका कार्यमा प्रेरित गर्छ।
- कलेजो र पाचनः कलेजो (Liver), कमलपित्त (Jaundice) र पाचन प्रणालीसँग सम्बन्धित समस्यामा यो लाभदायी हुन्छ।
- स्नायु प्रणालीः मानसिक तनाव कम गरी मनलाई शान्त राख्न सहयोग गर्छ।
शुक्र यन्त्र
शुक्रको दोष निवारण, सुख, प्रेम, सौन्दर्य, वैवाहिक सुख, ऐश्वर्यको लागि प्रयोग गरिन्छ।
शुक्र यन्त्रको प्रमुख फाइदाहरू
- ऐश्वर्य र विलासिताः यसले जीवनमा सुख-सुविधा, महँगा सवारी साधन र विलासी जीवनशैली प्राप्त गर्न मद्दत गर्छ।
- वैवाहिक सुखः पति-पत्नीबीचको सम्बन्धमा मधुरता ल्याउन र प्रेम सम्बन्धलाई बलियो बनाउन यन्त्र रामबाण मानिन्छ।
- कला र रचनात्मकताः कलाकार, गायक, चित्रकार र फिल्म क्षेत्रमा लागेका व्यक्तिहरूका लागि हिराले लोकप्रियता र सफलता दिलाउँछ।
- आत्मविश्वासः यसले हीनताबोध हटाएर व्यक्तिको व्यक्तित्वमा एक प्रकारको आकर्षण र चमक पैदा गर्छ।
- सम्पत्ति वृद्धिः आर्थिक उन्नति र व्यापारमा सोचेभन्दा बढी लाभका लागि यन्त्र धारण गरिन्छ।
- प्रजनन स्वास्थ्यः शुक्र ग्रहले प्रजनन क्षमताको प्रतिनिधित्व गर्ने हुनाले यौन दुर्बलता वा सन्तान प्राप्तिमा हुने अवरोध हटाउन मद्दत गर्छ।
- मानसिक शान्तिः तनाव र डिप्रेसनलाई कम गरी मनलाई स्थिर राख्न सहयोग गर्छ।
- छालाको चमकः यसले रगत शुद्धीकरणमा सहयोग पुर्याई अनुहारमा प्राकृतिक चमक ल्याउछ।
शनि यन्त्र
शनिको दोष निवारण, बाधा निवारण, धैर्य वृद्धि, कर्मफल सुधारको लागि प्रयोग गरिन्छ।
शनि यन्त्रको प्रमुख फाइदाहरू
- आर्थिक उन्नतिः यसले रोकिएको धन फिर्ता गराउने र अचानक धन लाभ (Sudden Gains) गराउने क्षमता राख्छ।
- मानसिक स्पष्टताः भ्रम र द्विविधा हटाएर निर्णय लिने क्षमतामा अद्भूत वृद्धि गर्छ।
- सुरक्षाः शत्रुहरूबाट रक्षा गर्ने, खराब दृष्टि (Evil Eye) र तन्त्र-मन्त्रको असरबाट जोगाउँछ।
- कार्यक्षेत्रमा प्रगतिः फलाम, मेसिनरी, तेल, कोइला, र न्याय सेवामा लागेकाहरूका लागि यो अत्यन्तै लाभदायक हुन्छ।
- अनुशासनः व्यक्तिलाई अनुशासित र कर्मठ बनाउँछ।
- नाडी र नसाः स्नायु प्रणाली (Nervous System) सम्बन्धी समस्या र पक्षाघात (Paralysis) रोग निवारणमा मद्दत गर्छ।
- मानसिक रोगः डिप्रेसन र अत्यधिक चिन्ता कम गर्न सहयोग गर्छ।
राहु यन्त्र
राहुको नकारात्मक प्रभाव कम गर्न र कालसर्प दोष शान्तिको लागि प्रयोग गरिन्छ।
राहु यन्त्रको प्रमुख फाइदाहरू
- अचानक सफलताः राजनीति, शेयर बजार, र जुवा-सट्टा जस्ता क्षेत्रमा अचानक लाभ दिलाउँछ।
- शत्रु विजयः यसले गुप्त शत्रुहरूलाई परास्त गर्न र कानुनी मामिलामा विजय दिलाउन मद्दत गर्छ।
- भ्रम निवारणः मनमा उत्पन्न हुने अनावश्यक शंका र डर हटाएर स्पष्ट सोच्ने शक्ति दिन्छ।
- आत्मविश्वासः सार्वजनिक भाषण वा भीडको अगाडि बोल्नुपर्ने व्यक्तिहरूका लागि धारणा गर्दा यसले आत्मविश्वास बढाउँछ।
- कलियुगको यन्त्रः आजको प्रविधिको युगमा सफ्टवेयर इन्जिनियर, पाइलट, र अनुसन्धानकर्ताहरूका लागि यो निकै फलदायी मानिन्छ।
सावधानीः ज्योतिषीको सल्लाह लिएर मात्र थापना गर्नुपर्दछ।
केतु यन्त्र
केतुको दोष निवारण, आध्यात्मिक उन्नति र मोक्ष प्राप्तिको लागि प्रयोग गरिन्छ।
केतु यन्त्रको प्रमुख फाइदाहरू
- आध्यात्मिक जागृतिः यसले मनलाई अन्तर्मुखी बनाउँछ र ध्यान तथा अध्यात्ममा रुचि बढाउँछ।
- अचानक धन लाभः सेयर बजार, सट्टापट्टा वा चिठ्ठा जस्ता क्षेत्रमा संलग्नहरूका लागि यो शुभ मानिन्छ।
- शत्रु नाशः अदृश्य शत्रुहरू र षड्यन्त्रबाट रक्षा गर्छ।
- मानसिक शान्तिः तनाव, डिप्रेसन र डरलाग्दो सपनाबाट मुक्ति दिलाउँछ।
- प्रतिष्ठा फिर्ताः यदि कसैको सामाजिक मान-सम्मान गुमेको छ भने, यसले त्यो फिर्ता दिलाउन सहयोग गर्छ।
- क्यान्सर र ट्युमरः केतुसँग सम्बन्धित मानिने जटिल रोगहरूमा यसले प्रतिरोधात्मक शक्ति दिने विश्वास गरिन्छ।
- छालाको रोगः विभिन्न प्रकारका एलर्जी र छालाका समस्याहरू कम गर्न मद्दत गर्छ।
- स्नायु प्रणालीः पक्षाघात वा नशा सम्बन्धी दुखाइमा यसले सकारात्मक प्रभाव पार्छ।
सावधानीः ज्योतिषीको सल्लाह लिएर मात्र थापना गर्नुपर्दछ।
नवग्रह यन्त्र
नवग्रहको दोष निवारण, सम्पूर्ण ग्रहहरूको अनुकूलता र प्रभाव सन्तुलन गर्न, सन्तान पनि बिग्रेको छन, व्यापार व्यवसाय पनि राम्रो छैन, घरमा झगडा पनि भइरहेको छ, सबैतर्फबाट दुःख पाएको अथवा बिग्रेको छ भने घरमा नवग्रह यन्त्र राख्ने। यसले आकाशमण्डलका नौवटै ग्रहहरू सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतुको संयुक्त ऊर्जालाई प्रतिनिधित्व गर्दछ।
नवग्रह यन्त्रको बनावट
यो यन्त्र एउटा वर्गाकार पातामा ९ वटा साना कोठाहरू मिलेर बनेको हुन्छ। प्रत्येक कोठामा एक-एकवटा ग्रहको विशिष्ट अंक वा मन्त्र लेखिएको हुन्छ। यसको केन्द्रमा सामान्यतया सूर्य हुन्छ, जसलाई सबै ग्रहहरूको राजा मानिन्छ। यो यन्त्र तामा, चाँदी वा सुनको पातामा कुँदिएको सबैभन्दा उत्तम मानिन्छ। यसले घरको 'वास्तु ऊर्जा' लाई सन्तुलित गर्छ, जसले गर्दा घरका सदस्यहरूबीच कलह कम हुन्छ। यो यन्त्र लकेटको रूपमा घाँटीमा पनि लगाउन सकिन्छ।
नवग्रह यन्त्रका फाइदाहरू
- ग्रह दोष निवारणः यदि कुण्डलीमा कुनै ग्रह 'नीच' वा 'अशुभ' छ भने त्यसको नकारात्मक प्रभावलाई यसले कम गर्छ।
- मानसिक शान्तिः चन्द्र र बुधको शुभ प्रभावले गर्दा निर्णय लिने क्षमता र मानसिक स्थिरता बढ्छ।
- स्वास्थ्य लाभः सूर्य र मंगलको ऊर्जाले शरीरमा जीवनी शक्ति (Vitality) र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
- आर्थिक समृद्धिः शुक्र र गुरुको कृपाले धन, ऐश्वर्य र सुख-सुविधामा वृद्धि हुन्छ।
- सुरक्षाः शनि, राहु र केतुका कारण आउने आकस्मिक दुर्घटना, शत्रु बाधा र कानुनी झमेलाबाट बचाउँछ।
देवी-देवता सम्बन्धी यन्त्रहरू
देवी-देवता यन्त्रहरू देवी-देवताका कृपा प्राप्त गर्न र विभिन्न लाभ प्राप्त गर्न प्रयोग गरिन्छ।
- काली यन्त्रः माता कालीको कृपा र रक्षाको लागि प्रयोग गरिन्छ।
- कुबेर यन्त्रः धन वृद्धि र व्यापारमा सफलताको लागि प्रयोग गरिन्छ।
- दुर्गा यन्त्रः शक्ति, आत्मविश्वास, सुरक्षा प्रदानको लागि प्रयोग गरिन्छ।
- गणेश यन्त्रः विघ्न नाश, बाधा हटाउन र सफलता प्राप्तिको लागि प्रयोग गरिन्छ।
- काल भैरव यन्त्रः सफलता र समयको सही उपयोग गर्नको लागि प्रयोग गरिन्छ।
- हनुमान यन्त्रः बल, भय नाश, शत्रु नाश, साहस वृद्धि र भक्तिको लागि प्रयोग गरिन्छ।
- गायत्री यन्त्रः गायत्री माताको लागिः ज्ञान, आध्यात्मिकता, सुरक्षा प्राप्तिको लागि प्रयोग गरिन्छ।
- लक्ष्मी यन्त्रः देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ साथै धन, समृद्धि र सौभाग्य प्राप्त गर्न प्रयोग गरिन्छ।
- महामृत्युंजय यन्त्रः भगवान शिवको लागिः रोग निवारण, अकालमृत्यु टार्नको लागि प्रयोग गरिन्छ।
- सुदर्शन यन्त्रः भगवान विष्णुको लागिः सुरक्षा र नकारात्मक ऊर्जा नाश गर्नको लागि प्रयोग गरिन्छ।
- श्री यन्त्रः माता लक्ष्मीको लागिः धन, समृद्धि, ऐश्वर्य, सौभाग्य, घरमा पैसाको सह छैन भने घरमा श्री यन्त्र राख्ने।
- बंगलामुखी यन्त्रः बंगलामुखी माताको लागिः घरमा बोक्सी, मसान, लागो-भागोले सताएको अनुभव भएको छ भने घरमा बंगलामुखी यन्त्र राख्ने।
- सम्पूर्ण महालक्ष्मी यन्त्रः सम्पूर्ण महालक्ष्मी यन्त्र एक विशेष यन्त्र हो जुन महालक्ष्मी देवीको पूजा र आराधना गर्नको लागि प्रयोग गरिन्छ। यो यन्त्र विशेष रूपमा धन, ऐश्वर्य, सुख, समृद्धि र समृद्ध जीवनको प्राप्ति को लागि महत्त्वपूर्ण मानिन्छ।
वास्तु दोष निवारण यन्त्रहरू
वास्तु यन्त्रहरू घर वा कार्यस्थलमा सकारात्मक ऊर्जा बढाउन प्रयोग गरिन्छ।
- गृह शान्ति यन्त्रः परिवारमा शान्ति र समृद्धि ल्याउनको लागि प्रयोग गरिन्छ।
- द्वार यन्त्रः घरको प्रवेशद्वारमा नकारात्मक ऊर्जा रोक्नेको लागि प्रयोग गरिन्छ।
- वास्तु यन्त्रः घर वा कार्यस्थलको वास्तु दोष निवारण, घरको वास्तु बिग्रिएको छ, घरमा झगडा, किचलो अशान्ति भैरहेको छ भने घरमा वास्तु दोष यन्त्र राख्ने।
सावधानीः
- उल्टो नराख्नेः यन्त्रमा भएका आकृति वा अंकहरू उल्टो हुनु हुँदैन।
- अशुद्धताः शौचालयको भित्तामा (भित्रपट्टि) वा फोहोर ठाउँमा कहिल्यै नराख्नुहोस्।
- फुटेको यन्त्रः यदि यन्त्र फुटेको, कोतरिएको वा रङ उडेको छ भने त्यसलाई विसर्जन गरेर नयाँ राख्नु पर्छ।
- विशेष टिपः वास्तु दोष निवारणका लागि 'श्री यन्त्र' र 'वास्तु यन्त्र' लाई सँगै राख्नु अझ बढी फलदायी मानिन्छ।
रुद्राक्ष र यन्त्रको सम्बन्ध
जसरी यन्त्रले बाहिरी वातावरणको ऊर्जालाई सन्तुलन गर्छ, रुद्राक्षले शरीरको भित्री ऊर्जालाई सन्तुलित गर्छ। धेरैले 'रुद्राक्ष माला' को प्रयोग गरेर यन्त्र र मन्त्रको साधना गर्ने गर्छन्, जसले गर्दा साधनाको फल छिटो प्राप्त हुन्छ।
अन्य विशेष यन्त्रहरू
यी यन्त्रहरू विशिष्ट उद्देश्यहरू पूरा गर्न प्रयोग गरिन्छ।
- विद्या यन्त्रः स्मरण शक्ति वृद्धिको लागि प्रयोग गरिन्छ।
- शत्रु नाशक यन्त्रः शत्रु दोष निवारण, आत्मरक्षाको लागि प्रयोग गरिन्छ।
- रोग नाशक यन्त्रः रोगबाट बच्ने, स्वास्थ्य सुधार गर्नेको लागि प्रयोग गरिन्छ।
- सौभाग्य यन्त्रः जीवनमा भाग्य वृद्धि, सफलता प्राप्त गर्नेको लागि प्रयोग गरिन्छ।
- सौभाग्यदा यन्त्रः सौभाग्य प्राप्ति, समृद्धि तथा सफलता बढाउनेको लागि प्रयोग गरिन्छ।
- रजत यन्त्रः चन्द्रमाको लागिः चन्द्र दोष निवारण, शीतलता प्राप्त गर्नेको लागि प्रयोग गरिन्छ।
- सर्व कष्ट निवारण यन्त्रः जीवनमा आइपर्ने सबै प्रकारका समस्याहरू हटाउनको लागि प्रयोग गरिन्छ।
- सम्पूर्ण बाधा मुक्ति यन्त्रः शत्रु बाधा, नकारात्मक ऊर्जा तथा जीवनका अन्य कठिनाइहरू हटाउनको लागि प्रयोग गरिन्छ।
- सन्तान गोपाल यन्त्रः सन्तान प्राप्ति भको छैन भने वा सन्तानको उन्नति-प्रगति भएको छैन भने घरमा सन्तान गोपाल यन्त्र राख्ने।
- व्यापार वृद्धि यन्त्रः व्यापार व्यवसाय राम्रो भएको छैन, व्यापार व्यवसाय फैलिन सकेको छैन भने व्यापार स्थलमा व्यापार वृद्धि यन्त्र राख्ने।
- कौडाः धन, समृद्धि, तथा सौभाग्यको प्रतीक मानिन्छ। समुद्र मन्थनमा लक्ष्मी देवीसँगै उत्पन्न भएको मानिने भएकाले धन वृद्धि तथा व्यापार वृद्धि गर्न मद्दत गर्छ।
- घोडाको नालः घोडाको नाल शनि दोष निवारणको लागि उत्तम उपाय हो। नकारात्मक ऊर्जा हटाउन र सौभाग्य प्राप्त गर्न घर वा कार्यक्षेत्रको ढोकामा राखिन्छ।
- कछुवाको मुर्तिः वास्तुशास्त्र अनुसार कछुवा दीर्घायु, स्थायित्व र समृद्धिको प्रतीक हो। घर वा अफिसमा राख्दा दिगोपन, स्थिरता, टिकाउपन, धैर्य र शान्ति बढ्छ।
- मुरली वा बाँसुरीः भगवान् श्रीकृष्णसँग जोडिएको छ, प्रेम, सौहार्दता तथा आनन्दको प्रतीक हो र घरमा राख्दा प्रेम सम्बन्ध, पारिवारिक सुख-शान्ति तथा धनको वृद्धि हुन्छ।
- मयुरको प्वाँखः मयुर भगवान् कार्तिकेय तथा कृष्णसँग सम्बन्धित छ, जसले सकारात्मक ऊर्जा बढाउँछ, नकारात्मक ऊर्जा हटाउन तथा दोष निवारण गर्न घरमा राखिन्छ साथै सर्प तथा अन्य नकारात्मक तत्वहरू टाढा राख्नेको लागि प्रयोग गरिन्छ।