एकादशीको व्रत कसरी गर्ने

एकादशी व्रत हिन्दू धर्ममा निकै महत्त्वपूर्ण र पवित्र मानिन्छ। प्रत्येक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षको ११ औं तिथिलाई एकादशी भनिन्छ। यो व्रत भगवान विष्णुको आराधनाका लागि समर्पित हुन्छ।

दशमीको दिन (व्रत सुरु हुनु अघिल्लो दिन)
सात्विक भोजन:
दशमीको दिन बेलुका साधारण र सात्विक भोजन मात्र गर्नुपर्छ। लहसुन, प्याज, माछा-मासु -मसला भएको खानेकुरा खानु हुँदैन। ब्रह्मचर्य: यस दिनदेखि नै मन र शरीरलाई शुद्ध राख्नुपर्छ।

एकादशीको दिन (व्रतको मुख्य दिन)

  • सवेरै उठ्ने: एकादशीको दिन सूर्योदयभन्दा अगाडि (ब्रह्म मुहूर्तमा) उठेर स्नान गरेर शुद्ध कपडा लगाउनु।
  • व्रतको संकल्प: तुलसीको मठमा भगवान विष्णुको स्मरण गर्दै तिलानी जल लिएर एकादशी व्रतको संकल्प गर्नुपर्छ।
  • भगवान विष्णुलाई पञ्चामृत र सात्विक मिठाईको भोग लगाउनुहोस् (भोगमा तुलसीको पात अनिवार्य हुनुपर्छ)।
  • कथा र मन्त्र जप: एकादशीको व्रत कथा पढ्ने वा सुन्ने र भगवान विष्णुको महामन्त्र ॐ नमो भगवते वासुदेवाय को जप गर्नुपर्छ।
  • एकादशीको दिनमा साँझ पख छोटो भएपनि भजन-कीर्तन अनिवार्य गर्नुपर्दछ।
  • द्वादशीको दिन (व्रत समापन वा पारण)
  • द्वादशीको दिन सवेरै उठेर स्नान गरी पुन: भगवान विष्णुको पूजा गर्नुपर्छ।
  • ब्राह्मण वा गरिबलाई दान: भोजन तयार गरी सर्वप्रथम ब्राह्मण, गरिब वा गाईलाई भोजन गराउनुहोस् वा सिधा (चामल, दाल, नुन आदि) दान गर्नुहोस्।
  • त्यसपछि मात्र आफूले भोजन गरेर व्रतको समापन (पारण) गर्नुपर्छ।
  • नखाने कुराहरू: एकादशीका दिन अन्न (चामल, गहुँ, कोदो, मकै), दाल र गेडागुडी पूर्ण रूपमा वर्जित हुन्छ। यस दिन चामल खानुलाई सबैभन्दा ठूलो दोष मानिन्छ।
  • खाने कुराहरू (फलाहार): यदि निराहार (पानी पनि नखाई) बस्न सकिदैन भने दूध, दही, फलफूल, कन्दमूल (जस्तै आलु, पिँडालु, सखरखण्ड), र साबुदाना खान सकिन्छ।

कुन एकादशीको व्रतले के फल मिल्दछ
सनातन धर्ममा एकादशी व्रतको विशेष महत्त्व छ। वर्षभरि पर्ने २४ वटा एकादशी (मलमास वा अधिकमास पर्दा २६ वटा) को आफ्नै विशिष्ट महत्त्व र फल रहेका छन्। एकादशीको व्रत बस्नाले मानसिक शान्ति, स्वास्थ्य लाभ र आध्यात्मिक उन्नति मिल्ने विश्वास गरिन्छ।

मुख्य एकादशीहरू र तिनको फल

महिना (पक्ष) एकादशीको नाम मिल्ने मुख्य फल / महत्त्व
बैशाख (कृष्ण) बरुथिनी एकादशी सौभाग्य प्राप्ति, दु:खी कष्टबाट मुक्ति र पुण्य प्राप्त हुने।
बैशाख (शुक्ल) मोहिनी एकादशी मोह-माया र पापबाट मुक्ति मिल्ने, मानसिक शान्ति प्राप्त हुने।
जेठ (कृष्ण) अपरा एकादशी अपार धन-सम्पत्ति प्राप्ति र कीर्ति बढ्ने, ठूला पाप नष्ट हुने।
जेठ (शुक्ल) निर्जला एकादशी पानी समेत नखाई बस्ने व्रत। यो एउटा एकादशीको व्रतले वर्षभरिका सबै एकादशीको फल मिल्ने।
असार (कृष्ण) योगिनी एकादशी समस्त पाप र श्रापबाट मुक्ति मिल्ने, स्वास्थ्य राम्रो हुने।
असार (शुक्ल) हरिशयनी एकादशी यस दिनदेखि भगवान विष्णु ४ महिनाका लागि क्षीरसागरमा सुत्नुहुन्छ (चतुर्मास सुरु)। व्रत बस्नाले सुख-समृद्धि मिल्ने।
साउन (कृष्ण) कामिका एकादशी चिताएका पुराना इच्छा पूरा हुने र पितृहरूको उद्धार हुने।
साउन (शुक्ल) पुत्रदा एकादशी सन्तान सुख, योग्य सन्तान प्राप्ति र सन्तानको रक्षा हुने।
भदौ (कृष्ण) अजा एकादशी गुमेको सुख-ऐश्वर्य र राज्य फिर्ता हुने (राजा हरिश्चन्द्रले यो व्रत गरेका थिए)।
भदौ (शुक्ल) हरिपरिवर्तिनी एकादशी भगवान विष्णुले सुतेकै अवस्थामा कोल्टो फेर्ने दिन। यसले सुख र मुक्ति दिन्छ।
असोज (कृष्ण) इन्दिरा एकादशी पितृहरूलाई मोक्ष मिल्ने र नर्कको कष्टबाट मुक्ति पाइने।
असोज (शुक्ल) पापान्कुशा एकादशी पापहरूको नाश हुने र इच्छा अनुसारको फल प्राप्ति हुने।
कात्तिक (कृष्ण) रमा एकादशी धनकी देवी लक्ष्मी (रमा) को कृपा मिल्ने, आर्थिक संकट दूर हुने।
कात्तिक (शुक्ल) हरिबोधिनी एकादशी भगवान विष्णु ४ महिनाको निद्राबाट ब्युँझनुहुने दिन (ठूलो एकादशी)। यस दिन तुलसी विवाह गरिन्छ र चिताएको मनोकांक्षा पूरा हुन्छ।
मंसिर (कृष्ण) उत्पत्तिका एकादशी एकादशी देवीको उत्पत्ति भएको दिन। यस व्रतले आरोग्य र मोक्ष दिन्छ।
मंसिर (शुक्ल) मोक्षदा एकादशी यसै दिन गीता जयन्ती पनि पर्छ। यो व्रतले पितृ र व्रतालु दुवैलाई मोक्ष दिलाउँछ।
पुस (कृष्ण) सफला एकादशी कार्यहरूमा सफलता मिल्ने र भाग्य चम्किने।
पुस (शुक्ल) पुत्रदा एकादशी (वर्षमा दुई पटक पर्छ) सन्तान सुख र प्रगतिको लागि फलदायी।
माघ (कृष्ण) षटतिला एकादशी तिलको ६ प्रकारले प्रयोग गरिने। शारीरिक र मानसिक कष्ट हट्ने, समृद्धि मिल्ने।
माघ (शुक्ल) जया एकादशी पिशाच योनि वा भूतप्रेतको भयबाट मुक्ति मिल्ने र पुण्य प्राप्त हुने।
फागुन (कृष्ण) विजया एकादशी शत्रुहरूमाथि विजय प्राप्त हुने र कठिन कार्य सफल हुने।
फागुन (शुक्ल) आमलकी एकादशी अमलाको रुखको पूजा गरिने। यसले आरोग्यता र भगवान विष्णुको परम धाम दिलाउँछ।
चैत (कृष्ण) पापमोचिनी एकादशी जानिबुझि वा अन्जानमा गरिएका सबै पापको नाश हुने।
चैत (शुक्ल) कामदा एकादशी सबै प्रकारका सांसारिक र आध्यात्मिक कामना (इच्छा) पूरा हुने।